इटहरी । तेह्रथुमबाट शैक्षिक भ्रमण सकेर सुनसरीतर्फ फर्किंदै गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ स्थित रमाइलो घुम्ती नजिकै आइतबार दिउँसो करिब ४ः२५ बजे दुर्घटनामा पर्दा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६० वर्षीय बस चालक भुवन चौधरीको विराट टिचिङ अस्पताल, विराटनगरमा उपचारका क्रममा मंगलवार मृत्यु भएको हो। सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले शैक्षिक भ्रमणका लागि पठाएको उक्त बसमा चालकसहित ४१ जना सवार रहेका थिए।
दुर्घटनामा परेकाहरूमध्ये अधिकांश घाइते भएपनि उपचारपछि घर फर्किएका छन्। तर, चालक चौधरी भने गम्भीर घाइते भएपछि धनकुटा अस्पतालमा सामान्य उपचारपछि विराटनगर पठाइएको थियो। विराटनगरमा उपचारकै क्रममा उनको मृत्यु भएको विद्यालय प्रशासनले जनाएको छ । चौधरीले विद्यालयमा चालकका रूपमा पु¥याएको इमानदार, लगनशील र कर्तव्यनिष्ठ सेवाको विद्यालय परिवारले प्रशंसा गर्दै आएको थियो। विद्यार्थीहरूको सुरक्षा र सहज आवागमनका लागि उनी सधैं समर्पित रहेको विद्यालयले जनाएको छ। विद्यालय परिवारले एक सूचना जारी गर्दै स्वर्गीय भुवन चौधरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। बस अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।


