इटहरी । सुनसरीको इनरुवा नगरपालिका–९ नहरचोक आसपास लागूऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मंगलवार साँझ इनरुवा–जाल्पापुर भित्री सडकखण्डमा जाँचका क्रममा इनरुवाबाट जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोकेर चेकजाँच गर्न खोज्दा चालकले गाडी नरोकी फरार भएको प्रहरीले जनाएको छ। सम्बन्धित मार्गमा सतर्कता बढाइएपछि अस्थायी प्रहरी चौकी साम्बला, पोखरीचोकबाट खटिएको टोलीले नहरचोकबाट झण्डै १०० मिटर पर सवारी साधन छाडिएको अवस्थामा फेला पारेको हो। चालक भने फरार अवस्थामा रहेकाले खोजतलास सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको कमाण्डमा खटिएको टोलीले कानुन बमोजिम सवारीसाधनको निरीक्षण तथा खानतलासी गर्दा स्कारपियो भित्र प्लास्टिकका बोरा प्रयोग गरी प्याक गरिएको १६ बोरा, करिब ४६० केजी ९चार सय साठी केजी० गाँजा बरामद गरेको छ। बरामद गरिएको सवारी साधन र लागूपदार्थलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ। फरार चालकको तीव्र खोजी जारी रहेको प्रहरीले जनाएको छ।