इटहरी ।  मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२र३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ । सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उहाँले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ ।

२०७८ साउन २७ गते उक्त सबस्टेसन निर्माण गर्न  एनर्जिपिक इन्जिनियरिङ–एस आर एसोसिएट्स इन्फ्रास्ट्रक्चर जेभीलाई ठेक्का प्रदान गरिएको थियो । निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०८० कात्तिक २५ गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि दुई पटक म्याद थप गरी आयोजना अन्तिम चरणमा पु¥याइएको हो । पर्याप्त क्षमताको सबस्टेसन नहुँदा दक्षिण मोरङका जनताले १७० केभी क्षमतामा मात्र विद्युत् उपभोग गर्न पाएका थिए । यो स्टेसन तयार भएपछि रङ्गेली वितरण केन्द्रबाट बिजुली बालिरहेका सबै खाले ग्राहकले ३० वर्ष पुरानो समस्याबाट मुक्ति पाउने छन् । रङ्गेली वितरण केन्द्रले हाल रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिकाका ५१ हजार १७९ घरधुरीमा विद्युत् सेवा दिएको छ । यस्तै ६७१ औद्योगिक उपभोक्ता छन् भने ८६७ विभिन्न सङ्घ संस्थाले विद्युत् सेवा लिएका छन् । सबस्टेसन पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल ६१ हजार ८५५ ग्राहकले गुणस्तरीय सेवा पाउने अपेक्षा गरेका छन् ।