इटहरी  । झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पाइप बिछ्याउँदा भत्काइएका कतिपय सडक बनाइएको केही महिना बित्न नपाउँदै भत्कन थालेका हुन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार कालोपत्रे भत्काएर ढल बिछ्याएपछि भत्केका सडक लामो समय नबनाएपछि बनाउन धेरै दबाब सिर्जना गर्नु परेको थियो । दैनिक आवतजावत तथा हिँडडुलमा समस्या सिर्जना हुने अवस्था आएको उहाँको भनाइ छ । दमकमा घर घरबाट निस्कने पानीजन्य फोहोर प्रशोधन गरी मल तथा करिब २।५ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यो ढल निर्माण योजना सङ्घीय सरकारले २०७७ असोज २६ देखि अगाडि बढाएको थियो । अहिले यो योजना स्थानीयका लागि नै टाउको दुखाइको विषय बनेको जनप्रतिनिधिले बताउन थालेका छन् । एकातिर निर्धारित समयमा ढल निर्माणको काम सकिएको छैन भने अर्कातिर ढल बनाउँदा सडक भत्काएर बिजोग बनाइएको छ । स्वामीनारायण–आशीर्वाद जेभीले निर्माण गरेको कालोपत्रे सडकमा गहिरा खाल्डाखुल्डी देखिन थालेपछि यातायात सञ्चालन कठिनाइ भएको नगरप्रमुख थापाको भनाइ छ । उहाँले निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगरेको र आवश्यक समन्वय नहुँदा समस्या चुलिएको बताउनुभयो । २०७७ असोज २६ मा निर्माण सुरु भएको योजना २०७९ चैत २५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा बारम्बार समय थप भएर मङ्सिरको दोस्रो साता पुग्दासमेत निर्माण सम्पन्न हुने सुरासार देखिँदैन ।