इटहरी । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । पहिलो चरणमा यस वर्ष एक बिघा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उहाँले बताउनुभयो । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्ने छ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रूपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनुभएका उहाँले पहिलो पटक नरिवलको व्यावसायिक खेती गर्नु भएको हो । समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरूको भनाइ छ । झापामा सयौं वर्षदेखि आफ्नो बारीमा थोरै मात्रामा नरिवल हुर्काउने चलन छ । तर, व्यावसायिक उत्पादनका दृष्टिले धेरै जग्गामा नरिवल खेती गर्ने उहाँ कोशी प्रदेशकै पहिलो कृषक हुनुहुन्छ । आगामी वर्ष ७०० नरिवलका बिरुवा लगाउने तयारी गरेको उहाँले बताउनुभयो । नेपालमा हाल काँचो नरिवलको समेत उच्च माग छ । नरिवलको रस स्वास्थ्यवर्धक भएकाले भारतबाट आयात गरेर नेपाली बजारमा यसको बिक्री हुँदै आएको छ । सुकेको नरिवलको फलको मूल्य झन् उच्च छ । काँचो नरिवल बोटबाटै ९० देखि रु १०० सम्ममा बिक्री हुने गरेको कृषकहरू बताउँछन् । त्यही नरिवल बजारमा व्यापारीहरूले रु २५० सम्ममा बिक्री गर्दै आएका छन् । सुपारी जोन झापाका पूर्व अध्यक्ष निलकण्ठ तिवारीले बहुउपयोगी गुण भएको नरिवल खेतीतर्फ किसान आकर्षित हुनु सुखद् खबर भएको बताउनुभयो । उहाँले पानी नजम्ने प्रशस्त प्राङ्गरिक पदार्थ भएको खुकुलो माटोमा नरिवल राम्रोसँग फस्टाउने बताउनुभयो । विगत तीन वर्षदेखि धुलाबारी चोकमा नविरल पानी बेच्दै आउनुभएका हरिदेव सरदारले स्थानीय उत्पादन नभएका कारण भारतबाटै काँचो नरिवल ल्याउने गरेको बताउनुभयो । उहाँले दैनिक १०० देखि १५० सम्म नरिवलको रस बेच्दै आउनुभएको छ । बोट रोपेको नौदेखि १० वर्षमा नरिवलले फल दिने बताइएको छ ।