इटहरी। उद्योग व्यवसाय क्षेत्र र श्रम बजारको आवश्यकताबिच तालमेल नहुँदा उद्योगहरूले चाहेअनुरूपको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण तथा पूर्व सिकाइको मान्यता विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले यो समस्या समाधानमा जोड दिनुभएको हो । कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यावहारिक सीपको महत्व बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले खोजेअनुसारको जनशक्ति नपाउनु ठलो चुनौती रहेको बताउनुभयो । उहाँले धेरै जनशक्तिसँग व्यावहारिक सीप भए पनि औपचारिक प्रमाणपत्र नहुँदा समस्या भइरहेको बताउँदै पूर्व सिकाइको मान्यताले यस्ता सीपलाई औपचारिक स्वीकृति दिलाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग व्यवसाय, सीप विकास र श्रम बजारबिचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्ति विकासले मात्र प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । अर्का उपाध्यक्ष विपिन कावराले लामो अनुभव र अभ्यासबाट सीप हासिल गरेका धेरै श्रमिकहरू औपचारिक प्रमाणपत्र नहुँदा अवसरबाट वञ्चित भइरहेको अवस्थालाई चित्रण गर्नुभयो । नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजनाका प्रमुख सुभाष घिमिरेले श्रम बजारमै आधारित सीप प्रणाली विकास गर्नु आजको आवश्यकता भएको बताउनुभयो । अनुभवलाई औपचारिक मान्यता दिने र उद्योगमैत्री सीप परीक्षण विस्तार गर्ने कार्यमा निजी क्षेत्रको सक्रिय सहभागिता अत्यावश्यक रहेको र सीप विकासमा केन्द्रित संस्थाहरूबिच सहयोग सुदृढ भएमा स्थानीय तहमै रोजगारी सिर्जना र उत्पादकत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने घिमिरेले  बताउँनुभयो। कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, ट्रेड युनियन, इन्स्योर परियोजना, एनभिक्यूएस तथा पेशागत संगठनका प्रतिनिधिहरूले उद्योगको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र सीप परीक्षण प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयासमा जोड दिएका थिए ।