भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा भइरहेको प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन आज चारवटा खेल भएका छन् । 

दोस्रो दिनको पहिलो खेलमा महालक्ष्मी नगरपालिका र आमचोक गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा आमचोकले २–० को सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेलमा षडानन्द नगरपालिका र हतुवागढी गाउँपालिकाबीचको खेलमा हतुवागढी २–१ को सेटमा विजयी भएको छ । तेस्रो खेलमा महालक्ष्मी नगरपालिकाले भोजपुर नगरपालिकालाई २–० को अन्तरमा पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यस्तै आजको अन्तिम खेलमा हतुवागढी गाउँपालिकाले रामप्रसादराई गाउँपालिकालाई २–० को सोझो सेटमा हराउँदै दिनको अन्तिम जित सुनिश्चित गरेको हो । चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरू सहभागी छन् । उद्घाटन खेलमा पहिलो दिनको खेलमा भोजपुर नगरपालिकालाई २–० को सोझो सेटमा अरूण गाँउपालिकाले पराजित गरेको थियोे ।

प्रतियोगिता अन्तरगत मंसिर २१ गते फाइनल खेल हुनेछ । प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु २ लाख ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार २ लाख , तृतीय पुरस्कार रु १ लाख र सान्त्वना पुरस्कार रु ३३ हजार ३ सय ३१ साथै व्यक्तिगत विधाका नगद पुरस्कारहरू पनि प्रदान गरिने छ ।

1764937835369

गाउँपालिकामा खेलकुद विकास, युवाहरुमा खेलप्रति रुचि अभिवृद्धि र खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिनुभएको छ । प्रतियोगिताले अन्तरपालिका मैत्री सम्बन्ध, खेलकुदको प्रवद्र्धन तथा स्थानीय प्रतिभा बाहिर ल्याउन सहयोग गर्ने बताइएको छ ।1764937839149