इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप –२०८२ को आय व्यय विवरण सार्वजनिक भएको छ । शनिबार मोरङको पथरी शनिश्चरे वडा नं १ शिखर चोकमा रहेको  पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो प्रतियोगिताका लागि भएको आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो ।  पत्रकार सम्मेलनमा क्लबका सचिव केशर थुलुङले प्रतियोगिताको लागि कुल ४५ लाख ४० हजार १५० रुपैयाँ आम्दानी भएको, ४२ लाख ३६ हजार २ सय खर्च भएको र क्लबको खातामा ३ लाख ३ हजार ९५० रुपैयाँ वचत रहेको जानकारी दिनुभयो । सो खुल्ला नकआउट फुटबल प्रतियोगिता गत कात्तिक १५ गतेदेखि २२ गतेसम्म  सफलता पूर्वक संचालन भएको थियो । उक्त गोल्डकपलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरी आर्थिक, नैतिक र भौतिक सहयोग प्रदान गर्ने पथरीशनिश्चरे नगरपालिका तथा नगर खेलकुद समिति, मुख्य प्रायोजक इन्ट्रा फाउण्डेसन अमेरिका, सांग्रिला युथ फुटबल क्लव अमेरिका, के. आई. ई. सी. इटहरी, पथरीशनिश्चरे नगर प्याब्सन परिवार, पथरीशनिश्चरे परिवार हङकङ, डिलाइट पेन्टस, नेमाटो टायल्स, अरनिको हस्पिटल, ब्ल्याक विन्स क्याफे, मोरङ जिल्ला फुटबल संघ, फस्ट लिङ्क, सिद्धार्थ वैङ्क, ब्रिटिस आर्मी, विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरू, आयोजक उपसमितिका सदस्यहरू, दर्शकहरू लगायत संस्थागत एवम् व्यक्तिगत रुपमा सहयोग गर्ने सम्पूर्णलाई आयोजकले आभार प्रकट गरेको छ । सोही क्रममा क्लबका अध्यक्ष सुमन बिकले हरेक वर्ष आयोजना गरिने लक्ष्य राखिएको उक्त दोस्रो संस्करणको यो प्रतियोगिताले यूवा जनशक्तिलाई सहि मार्गदर्शन गरी राष्ट्र निर्माणमा थोरै भए पनि इट्टा थपेको विश्वास  व्यक्त गर्नुभयो। उक्त अवसरमा  उक्त गोल्डकप प्रतियोगितालाई सफल तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विभिन्न संचार माध्यमका पत्रकारहरूलाई  सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो। फाउन्डेसन अफ अमेरिकाका नेपाल प्रतिनिधि राम बानियाको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनमा सो प्रतियोगिताको  खेल संयोजक उदय कुमार राई लगायतका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।