इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ मनाइएको छ । शुक्रबार  ‘स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नगरकी जेष्ठ स्वयंसेविका सरस्वती खनाललाई लामो समयदेखि स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको  भन्दै ७० हजार नगद तथा दोसल्ला प्रदान गरी सम्मान सहित विदाई गरिएको थियो । स्वयंसेविका खनालले २०४७ सालदेखि पथरी शनिश्चरेमा स्वयंसेविका भएर निरन्तर सेवा प्रदान गर्दै आउनुभएको थियो ।  स्वास्थ्य शाखा प्रमुख तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने नगरकी जेष्ठ स्वयंसेविका शान्ता राईले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । जनस्वास्थ्य अधिकृत द्वय एकराज खत्री र जगत मगरको संयोजनमा भएको कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नविन खुलाल, राजश्व शाखा प्रमुख तारा ढकाल, बालबालिका शाखा प्रमुख गीता कट्टेल, नगरका कर्मचारी तथा स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय उपस्थिति रहेको थियो । सोही अवसरमा शुभकामना आदानप्रदान  समेत गरिएको थियो ।