इटहरी। गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोड भएपछि संरचना अभाव झेल्दै आएको विराटनगरस्थित कोशी प्रदेश सभालाई नियमित सञ्चालनयोग्य बनाउन पाँच करोड रुपियाँभन्दा बढी खर्च लाग्ने भएको छ । साबिकको स्थानबाट अन्यत्र स्थानान्तरण गरिएको प्रदेश सभा सचिवालयलाई सभा सञ्चालनका लागि सभा हल र संसदीय दलको कार्यालय अति आवश्यक भएको हो । ती संरचना बनाउन पाँच करोड ५० लाख रुपियाँभन्दा बढी खर्च हुने भन्दै भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट माग गरेको छ । संसदीय समितिहरूको बैठक कक्ष निर्माणमा दुई करोड ८५ लाख ६४ हजार रुपियाँ र मुख्य सभा हल निर्माण तथा मर्मतका लागि दुई करोड १३ लाख रुपियाँको लागत अनुमान गरिएको छ । त्यस्तै क्यान्टिनका लागि करिब २८ लाख र अन्य संरचनाका लागि १३ लाख रुपियाँको अनुमानित लागत तयार भइसकेको छ । विराटनगर महानगरपालिकानजिकै रहेको कटहरी गाउँपालिका–१ स्थित फलफूल तथा कृषि थोक बजारको संरचना मर्मत गरी सञ्चालन गर्ने तयारी छ । यसका कारण मङ्सिर दोस्रो साताभित्रै प्रदेश सभा बैठक बोलाउने सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताउनुभएको थियो । सरकारले भने अहिलेसम्म प्रदेश सभाको संरचना बनाउन बजेट निकासा गरेको छैन । यसले गर्दा माघयता संसद् बैठक राख्न सकिने अवस्था नरहेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो । संसद् बैठक बस्नैपर्ने अवस्थामा अस्थायी टेन्टको व्यवस्था गरेर सञ्चालन गर्न सकिने विकल्प रहे पनि प्रदेश सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को केन्द्रीय महाधिवेशन नजिकिएका कारण सभा सञ्चालन गर्ने अवस्था नरहेको सभामुख विष्टले बताउनुभयो । कोशी प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले पुनर्निर्माणमा भएको ढिलाइले बैठक पर सरेको बताउनुभयो । विपक्षी दलहरूले भने सभा हल वा संरचना अभाव बहानाबाजी मात्र भएको भन्दै राजनीतिक कारणले नै बैठक नबसेको दाबी गरिरहेका छन् । विपक्षी दलहरूले जेनजी आन्दोलनपछि प्रदेश सभामा जनताको आवाज बोल्न नसकिएको टिप्पणी गरेका छन् ।


