सुनसरी | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसले पाँच जनाको उम्मेदवारी सिफारिसका लागि नाम संकलन गरेको छ। यी नामहरू मध्ये केन्द्रीय सदस्य एवं पूर्वमन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की सबैभन्दा अगाडि रहेका छन् ।
हिजो बसेको क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारका नामहरू संकलन गरेको हो। बैठकमा कार्की स्वयं उपस्थित नभए पनि निवर्तमान सांसद र केन्द्रीय समिति सदस्य समेत भएकोले उहाँको नाम राखिएको थियो ।
संकलित ५ नाममा पूर्वमन्त्री एवं निवर्तमान सांसद ज्ञानेन्द्रबहादुर कार्की, हरीनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी , इ. नवीन श्रेष्ठ, डिल्ली कार्की र डा. अबुल हुसेन अन्सारी छन् ।
बैठकले प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै संकलित नामहरूलाई अन्तिम रूपमा सिफारिस गर्न भोलि पुनः बैठक बस्ने र सर्वसम्मत निर्णय गर्ने जनाएको छ।
हरीनगर गाउँपालिकाका अध्यक्ष अन्सारीले समेत अब पालिकाबाट माथि उठेर क्षेत्रमै आफूले काम गर्ने इच्छा व्यक्त गरेपछि उनको नाम पनि संकलन गरिएको क्षेत्रीय नेताहरूले बताए।


