इटहरी । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो । नेपाली सेनाको रणसार्दुल गणको पहल तथा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गते देखि तीन दिने पदयात्रा गरिएको थियो ।  तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणसार्दुल गण इलामका प्रमुख प्रहलाद घलेले जानकारी दिनुभयो । जसमा पहिलो दिन मेची बजारमा पदयात्राको उद्घाटन गरी सूर्योदय ९ को रम्फोकमा बास बस्ने, दोस्रो दिन पहिलो पटक निशान राखिएको पूर्णे डाँडासम्म यात्रा गरी उक्त स्थानमा बास बस्ने, तेस्रो दिन माईजोगमाईको नामसालिङस्थित हात्तीटार सम्मको यात्रा गरी बास बस्ने र चौथो दिन इलाम नगरपालिकाको माइस्थानसम्म पदयात्रा गरी कार्यक्रम समापन गर्ने जनाइएको छ । नेपाली सेनाको रणसार्दुल गण इलाममा भएको पहिलो बैठकमा तीन वटै पालिकाका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल प्रहरी इलामका प्रमुख एक नारायण कोइराला, सशस्त्र प्रहरी इलामका प्रमुख लोकेन्द्र सुवेदी, उद्योग बाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेल, इतिहास बिद युद्ध प्रसाद बैद्य लगायतको सहभागिता थियो ।

छलफलमा पदमार्गलाई वर्षमा एक पटक हिड्ने मात्र नभई पदमार्गलाई सधै चलायमान बनाई स्थानीय पर्यटन र व्यवसायमा जोडन सुझाव दिइएको छ । इतिहास बिद बैद्यले एतिहासिक निसान पदमार्गलाई ब्यवस्थित र प्रचारप्रसार गरी पर्यटनमा जोड्न सुझाव दिनुभयो । पदयात्रालाई व्यवस्थित गर्नका लागि नेपाली सेनाको संयोजनमा तीनवटै पालिका  र स्थानीय सरोकारवाला संम्लग्न निशान पदमार्ग व्यवस्थापन समिति गठन गर्ने सहमति भएको छ । मङ्सिर २९ गते सूर्योदय नगरपालिकामा जनप्रतिनिधि सहितको दोस्रो बैठक बसी अन्य निर्णय गरीने भएको छ । पुषको पहिलो साता पदमार्गमा सेनाले रेकी गर्ने जनाएको छ । गत असोज १८ गतेको बाढी पहिरोले पदमार्गका धेरै ठाउँमा क्षति भएको छ । उक्त  पदमार्ग स्थानीय पालिका संगको समन्वयमा पुनः निर्माणको काम गर्न सेनाले प्रस्ताव गरेको छ । गत वर्षदेखि तीनवटै पालिकाको आर्थिक सहयोगमा पदयात्रा शुरु गरीएको हो । यस वर्ष पनि स्थानीय पालिकाको आर्थिक सहयोगमा पदयात्रा गरिने छ । कार्यक्रममा पदमार्गमा पर्ने बिभिन्न बिद्यालयमा समेत कार्यक्रम गर्ने गरी तय गरीने प्रमुख घलेले जानकारी दिनुभयो । –अंग्रेज युद्धपछि विक्रम संवत् १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात् तत्कालिन नेपाली सेनाले इलाम सदरमुकाममा निशान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएपछि गत बर्षबाट औपचारिक रुपमा पदमार्ग सञ्चालनमा आएको थियो । 

भारतको नागरीगडीदेखि, नेपाल भारत सीमा क्षेत्र सात माइल९मेची मुहान०, सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार गरी गत बर्ष नै सार्वजनिक गरिएको थियो । नागरी गडीमा अझै पनि गडी मन्दिर लगायत ऐतिहासिक बस्तु रहेको छ । तत्कालीन नेपाल–अङ्ग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम गरेको थियो ।  ।त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गडी खाली गर्न सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ ।  पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।