इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीले बहुमतको सरकार बनाउने बताउनु भएको छ । धनकुटामा बिहीबार आयोजित पार्टीको बृहत भेलालाई सम्बोधन गर्दै राईले पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनु भएको हो । राईले देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै देशमा आफूभन्दा देशभक्त कोही नभएको दाबी गर्नुभयो । उहाँले पार्टी, जाति, धर्म, वर्ग र स्वार्थले छियाछिया पारेको देशलाई एउटै मालामा उन्नको लागि आफू लागिपरेको बताउनुभयो । उहाँले एक्लैले केही गर्न नसकिने भएकोले पार्टी दर्ता गरेर आफू सियोको रुपमा अघिअघि जाने र सबैले धागो बनेर सहयोग गर्ने अपेक्षा रहेको बताउनुभयो । राईले नेता जितिरहने जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने बताउदै विदेशिएका नेपालीलाई नेपाल फर्काएर श्रमदानमा लगाए परिवारसँगै बसेर देशको विकास हुने राईले बताउनुभयो । धरान उपमहानगरपालिकाका प्रमुख समेत रहनु भएका राईले श्रम गरेमा संसारको एक नम्बर देश बनाउन सकिने बताउनुभयो । श्रम संस्कृति पार्टी धनकुटाको आयोजनामा भएको वृहत भेला अघि धनकुटा बसपार्कबाट ¥यालीको आयोजना गरिएको थियो। धनकुटा बसपार्कबाट सुरु भएको ¥याली मदन चोक, चुवाको बोट, परिचय मोड हुँदै एलम्बर चोकमा रहेको पार्टी कार्यालय उद्धाटन गरेर टुँडिखेलमा पुगेर सभा गरिएको थियो।


