इटहरी । इटहरी उप–महानगरपालिका–१२ स्थित पूर्वाञ्चल मिल्क एण्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे) मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले छापा मारेको छ । विभिन्न केक, पाउरोटी, बिस्कुटलगायतका खाद्य पदार्थ उत्पादन गर्दै आएको उद्योगले म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकल प्रयोग गरी उत्पादन गरिरहेको सूचनाका आधारमा छापा गरिएको कार्यालयले जनाएको छ। छापा मार्ने क्रममा ६ महिना भन्दा बढी म्याद गुज्रिएको पाउडर, फ्लेभरिङ केमिकल, बेकर आइटममा प्रयोग हुने प्रिजर्भेटिभ पदार्थ तथा अन्य कच्चा सामग्री ठूलो परिमाणमा फेला परेको खाद्य निरीक्षक उज्वल कोइरालाले जानकारी दिनुभएको छ । उक्त पदार्थले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले मुचुल्का बनाएर तत्काल उद्योग परिसरमै नष्ट गरिएको उहाँले बताउनुभयो । फेला परेका धेरैजसो पदार्थ उद्योगको बेकरी उत्पादन कक्षमा राखिएको भेटिएको थियो। उद्योगले खाद्य सुरक्षासँग प्रत्यक्ष खेलबाड गरेको भन्दै कार्यालयले थप अनुसन्धान थालेको छ। जिम्मेवार व्यक्तिहरूलाई खाद्य ऐन तथा नियमावली अनुसार कानुनी कारबाहीको दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।


