इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जेनजी आन्दोलन पछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीले प्रमुख कर्तव्यका रुपमा लिएको बताउनु भएको छ । बिहिवार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आयोजित पत्रकार अन्तक्रिर्यामा बोल्दै प्रहरी प्रमुख विनोद घिमिरेले  फागुन २१ गते हुन लागेको निर्वाचनमा जनता र राजनीतिक पार्टीको सहभागिताका लागि शान्ति सुरक्षाको वातावरण अत्यावश्यक शर्त भएकाले अहिले प्रहरी शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । उहाँले प्रहरीको मनोबल उकास्नुको साथै जेनजी आन्दोलनका क्रममा आगजनी तोडफोड र अराजकता मच्चाउनेलाई कानुनको दायरा ल्याउने कार्य पनि आफ्नो प्राथमिकता रहेको बताउनु भयो । घिमिरेले ट्राफिक र्दुघटना न्यूनिकरण र व्यवस्थापन, लागू औषध सेवन र ओसार पोसार नियन्त्रण तथा सिमा तस्करी रोक्न विशेष कार्यक्रम र योजना ल्याउने तयारी रहेको पनि जानकारी दिनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी बहन गर्न भरखरै सरुवा भएर आउनु भएका प्रहरी नायब महानिरीक्षक घिमिरेले प्रहरी भित्र शुन्य सहनशिलता कायम गर्दै इमान्दारिता र जवाफदेहितालाई प्राथमिकतामा राख्न मातहतका प्रहरीहरुलाई परिचालन गरिने स्पष्ट पार्नुभयो ।