इटहरी / पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रा.लि.ले आफ्नो उद्योगबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टीकरण जारी गरेको छ।
२०६७ सालदेखि इटहरी–१२ मा सञ्चालनमा रहेको उक्त उद्योगले उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट बेकरीजन्य खाद्य सामग्री उत्पादन र वितरण गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा इटहरीस्थित उद्योगमा गरिएको संयुक्त अनुगमन क्रममा म्याद सकिएका खाद्य सामग्री फेला परेको विषय सत्य भए पनि त्यसको सन्दर्भलाई लिएर समाचारमा भ्रामक ढंगले प्रस्तुत गरिएको दाबी गरिएको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भण्डार कक्ष पुनर्निर्माणका क्रममा डिस्पोज गर्नका लागि छुट्याएर राखिएका पुराना सामग्री एकै स्थानमा राखिएको र ती सामग्री उत्पादनमा प्रयोग नगरिएको स्पष्ट पारेको छ। सो विषय अनुगमन टोलीलाई समेत जानकारी गराइएको कम्पनीको भनाइ छ।
यथार्थ नबुझी एकपक्षीय ढंगले समाचार प्रकाशन गरिएको भन्दै कम्पनीले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ। साथै, उपभोक्ताको स्वास्थ्य र खाद्य गुणस्तरप्रति आफूहरू सधैं प्रतिबद्ध रहेको, सरकारी मापदण्डअनुसार उत्पादन, प्याकेजिङ र वितरण गर्दै आएको कम्पनीको दाबी छ।
पूर्वाञ्चल मिल्क एण्ड फुड्स प्रा.लि.ले सत्य बुझ्न चाहने सञ्चारकर्मी तथा सरोकारवालालाई उद्योग अवलोकनका लागि स्वागत रहेको समेत जनाएको छ।


