इटहरी । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा तोडफोड र आगजनी गरि क्षतिग्रस्त बनाइएका इलाका प्रहरी कार्यालय इटहरीको दर्जन बढी सवारी साधनहरूको उचित ब्यवस्थापन गरिएको छ । शुक्रबार इटहरी उपमहानगरपालिका वडा नं ६ को पहल र इलाका प्रहरी कार्यालय इटहरी तथा यातायात व्यवसायीहरूको सक्रियतामा जलेर अलपत्र परेका दर्जन बढी सवारी साधनहरूको उचित व्यवस्थापन गरिएको हो । जलेर अलपत्र अवस्थामा सडक किनारामा रहेका सवारी साधनका कारण शहरको शौन्दर्यमा प्रभाव पर्नुका साथै ४ लेन सडक निमाणमा पनि बाधा पुगेकोले सबैको सल्लाह सहकार्यमा यसलाइ व्यवस्थापन गरिएको इटहरी उपमहानगरपालिका ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताउनुभयो । शुक्रबार बिहान प्रहरी कार्यालय परिसरमा जलेर नस्ट भएका सवारी साधनहरू इटहरी ९ को रंगशाला स्थित पायक पर्ने स्थानमा व्यवस्थापन गरिएको वडाध्यक्ष पोख्रेलले बताउनुभयो । गत भदौ २३ र २४ गते देशभर जेन्जी आन्दोलन उग्र बन्दा इटहरी उपमहानगरले सबै भन्दा बढी क्षती र नोकसान बेहोर्नुपरेको थियो । जसमा उपमहानगरको सिंगो कार्यालय , २ दर्जन बढी सवारी साधनमा आगजनी र तोडफोड भएको थियो भने इलाका प्रहरी कार्यालय इटहरीको कार्यालय सहित प्रहरीको आधा दर्जन बढी सवारी साधनहरू आगजनी पश्चात नस्ट भएका थिए । हाल प्रहरी कार्यालय इटहरी ९ स्थित रंगशाला परिसरमा सारेर सेवा सुचारू गरिएको छ । यता जलेर नस्ट भएको प्रहरी काृयालयको केहि भाग पुनःनिर्माण गरि वडा प्रहरी कार्यालय स्थापना गर्ने पहल सुरू भएको ६ नं वडाध्यक्ष दिवश पोख्रेलले बताउनुभयो । यसो गरिदा मुख्य बजार क्षेत्रको सान्ती सुरक्षा कायम रहने वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।


