इटहरी । नेपाल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) भोजपुरको १९ औं जिल्ला सभा सम्पन्न भएको छ । शुक्रबार हतुवागढी गाउँपालिका १ घोडेटार स्थित संस्थाको आफ्नै भवनमा संस्थाका सल्लाहकार समितिका संयोजक ईश्वरमान राईको प्रमुख आतित्यथामा सभाको उद्घाटन गरिएको हो । संस्थाले स्थापना कालदेखि नै क्यान्सर रोग रोकथाम र निदान दुबै प्रकारका जनचेतना अभिवृद्धी र निवारणका उपाय अवलम्वन सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जिल्ला सभापति ईश्वरबहादुर खड्काले जानकारी दिनुभयो । सभामा संस्थाका उपाध्यक्ष पुरुषोत्तम बस्नेतले वार्षिक प्रगति प्रतिवेदन र संस्थाका कोषाध्य सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका बीच संस्थामा थप भएका आजीवन सदस्यहरूलाई प्रमाण पत्र वितरण गरिएको संस्थाका सचिव तारानाथ पराजुलीले जानकारी दिनुभयो । शाखाका सभापति ईश्वरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न सभामा हतुवागढी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश निरौला, वडा नम्बर १ का वडाध्यक्ष कुमार बिष्ट, प्राथमिक स्वास्थ्य केन्द्र घोडेटारका मेडिकल अधिकृत सिर्जना कटवाल, उद्योग वाणिज्य संघ घोडेटार अध्यक्ष हरी बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।