इटहरी।   सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिनुभयो । वडाको छ लाख र प्रदेश सरकारको १० लाख गरी कुल १६ लाखमा यहाँ दुईतिरबाट बारा ९रेलिङ० सहितको पदमार्ग, धारा, शौचालय र वनभोज  स्थल निर्माण गरिएको छ । यसवर्ष थप संरचना निर्माणका लागि वडाले एक लाख ५० हजार विनियोजन गरेको छ । काफ्ले डाँडालाई अझ आकर्षक बनाउन बुद्धको मूर्ति स्थापना र दुईतिरबाट बारा राखेर सुरक्षित पैदलमार्ग बनाउने योजना रहेको वडाध्यक्ष तामाङले बताउनुभयो । बजेट अभावका कारण केही काम अधुरो रहेको उहाँको भनाइ छ । काफ्ले डाँडाबाट भोजपुर बजार, आसपासका बस्ती, हरियाली वनक्षेत्र तथा टाढासम्मका हिमश्रृङ्खलासमेत अवलोकन गर्न सकिने भएकाले यहाँ दैनिक रूपमा समेत घुमफिर तथा फोटो खिच्न आउनेको सङ्ख्या बढ्दो छ । विशेषगरी बिदाका दिन, नयाँ वर्ष तथा फूल फुल्ने मौसममा यहाँ आगन्तुकको चहलपहल उल्लेख्य रूपमा देखिने गरेको स्थानीयले बताएका छन् । पर्यटन व्यवसायीले यस क्षेत्रको प्रभावकारी व्यवस्थापन र प्रचारप्रसार हुन सकेमा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने अपेक्षा राखेका छन् ।