इटहरी  । मोरङ जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष  धान उत्पादन घटेको छ । धान उत्पादनको हिसाबले देशमै राम्रो मानिने मोरङमा गत वर्षभन्दा यस वर्ष दुई हजार ८४ मेट्रिक टन धान उत्पादन घटेको हो । मोरङस्थित कृषि ज्ञान केन्द्रकी प्रमुख दीपा देवका अनुसार कात्तिक दोस्रो साताको बेमौसमी वर्षाले धानखेतीमा क्षति पुग्दा उत्पादन घटेको आकलन रहेको बताउनुभयो । गत वर्ष जिल्लामा तीन लाख ३९ हजार तीन दशमलव ४५ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन लाख ३६ हजार ९१९ दशमलव ४१ मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिनुभयो । गत वर्ष प्रतिहेक्टर चार दशमलव ८८ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष प्रतिहेक्टर चार दशमलव ८५ मेट्रिक टनमात्र उत्पादन भएको हो । यस वर्ष जिल्लामा ६९ हजार ४६७ दशमलव ९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको तथ्याङ्क छ ।  उहाँले यस वर्ष धान राम्रो उत्पादन भए पनि थन्क्याउने समयमा बेमौसमी वर्षाले असर पुगेको बताउनुभयो ।बेलबारी–११ भाङबारीका वीरेन्द्र खत्रीले करिब छ बिघा जमिनमा  लगाएको धानखेतीमा करिब ९० मन धानमा बेमौसमी वर्षाले क्षति पुगेको बताउनुभयो । धानमा क्षतिसँगै मूल्यमा पनि गिरावट आएकाले किसान चिन्तित हुनुपरेको खत्री बताउनुहुन्छ । यस वर्ष धानको बजार मूल्य प्रतिमन एक हजार २०० देखि एक हजार ३०० सम्म रहेको उहाँले सुनाउनुभयो । गत वर्ष मङ्सिरमा धानको बजार मूल्य प्रतिमन एक हजार ७०० देखि रु एक हजार ८०० सम्ममा कारोबार भएको खत्रीले जानकारी दिनुभयो ।