इटहरी | नेपाल तमु (गुरुङ) विद्यार्थी छोज धि, जिल्ला कार्यसमिति सुनसरीको दोस्रो अधिवेशन तथा पदस्थापना कार्यक्रम मिति २०८२ साल मंसिर २७ गते शनिबार इटहरीस्थित क्लब के मा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशन तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धिरज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य तथा जिल्ला कार्यसमिति सुनसरीका उपाध्यक्ष दिव्यराज गुरुङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

त्यसैगरी कार्यक्रममा तमुश्यो ह्युल छोज धि गुरुङ महिला राष्ट्रिय परिषद्की केन्द्रीय कार्यवाहक अध्यक्ष शिला गुरुङ, तमुश्यो जिल्ला अध्यक्ष हेमा तमु गुरुङ, संगीतकर्मी युनिश गुरुङ र भोलामान गुरुङ, साथै तमु (गुरुङ) विद्यार्थी छोज धिका केन्द्रीय पार्षद सदस्य बिरेन गुरुङको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नव–निर्वाचित पदाधिकारीहरूमा अध्यक्ष साजन गुरुङ (अमडुवा),उपाध्यक्ष निमा गुरुङ (तरहरा) र डेनिश घले गुरुङ (भरौल),सचिव सिमा गुरुङ (रा.वे.), संगठन सचिव मन्जिल गुरुङ (तरहरा),प्रचार सचिव डेनिसा घले गुरुङ (भरौल) तथा कोषाध्यक्ष सामना गुरुङ चयन हुनुभएको छ।

कार्यक्रममा वक्ताहरूले सुनसरी जिल्लामा तमु (गुरुङ) विद्यार्थीहरूको हकहित, पहिचान, शिक्षा तथा संगठनलाई थप सुदृढ बनाउँदै लैजान नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।