इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिपको उपाधि आशिक राईले हात पारेका छन् ।
फाइनल खेलमा विजयी बनेका राईलाई नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा शिल प्रदान गरिएको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेका जनेश तामाङलाई नगद १२ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल प्रदान गरिएको आयोजकले जनाएको छ ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्रिय र लक्ष्यप्रति केन्द्रित बनाउने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा ३२ जना खेलाडीको सहभागिता रहेको थियो । स्नुकर खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएकाले खेलाडी तथा प्रतिभालाई अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको द शान्तिनगर युथ क्लबका अध्यक्ष राजन राईले जानकारी दिनुभयो ।
क्लबका अनुसार उक्त प्रतियोगिता प्रत्येक वर्ष नियमित रूपमा आयोजना गरिनेछ । द शान्तिनगर युथ क्लबले इटहरी क्षेत्रमा खेलकुदसँगै विभिन्न सामाजिक गतिविधिहरू समेत गर्दै आएको छ ।


