इटहरी । पोखरामा आगामी पुस १३ गतेदेखि हुने सडक महोत्सवको निम्तो दिन व्यवशायीहरु इटहरी आइपुगेका छन् । नयाँ वर्षको अवसरमा २७ औँ पोखरा सडक महोत्सव आयोजना हुँदैछ । महोत्सवमा सहभागि हुन निम्ता बाँड्दै हिँडेको पोखरेली पर्यटनकर्मीहरूको टोलीले इटहरीमा पर्यटन व्यवसायी, पत्रकार, स्थानीय पालिकाका प्रतिनिधि र राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको थियो । उनीहरूले भेटका क्रममा पोखरा घुम्न आउन निम्तो दिनका साथै जेनजी आन्दोलनपछि पनि पोखरामा सुरक्षाको कुनै समस्या नभएको भन्दै आश्वस्त पारेका थिए । सो क्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका अध्यक्ष गोपीचन्द्र भट्टराईले पोखरा घुुम्नका लागि सुरक्षित रहेको सन्देश डिजिटल प्लेटफर्म मार्फत प्रवाह गरिरहेको जानकारी दिनुभयो । महोत्सव पोखराको मात्रै नभएर गण्डकी प्रदेशकै महत्त्वपूर्ण वार्षिक कार्यक्रम बनेको उहाँले बताउनुभयो । उहाँले पोखरामा पर्यटन संस्कार रहेको भन्दै सरकार र निजी क्षेत्रका बिचमा सहकार्य आवश्यक रहेको बताउनुभयो । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल पोखराको आयोजनामा फेवातालको किनार लेक साइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा पोखरा सडक महोत्सव २७ वर्षदेखि आयोजना हुँदै आएको जानकारी दिँदै यो ऐतिहासिक अवसर भएको रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले बताउनुभयो । “सडक मै खाऊ, सडक मै नाचौँ, सडक मै रमाऊूँ भन्ने मूल नाराका साथ खाना, संस्कृति र सङ्गीतलाई प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको हो । महोत्सवका बेला विभिन्न छुट योजनाहरु समेत व्यवशायीहरुले ल्याएका छन् ।


