इटहरी । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी– ७ बोगलस्थित देउराली आधारभुत विद्यालय ३ कोठे भवनको शिलान्यास गरिएको छ । यस शैक्षिकसत्रबाट कक्षा वृद्धि गरेको उक्त विद्यालय भवनको गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गर्नुभएको हो । गाउँपालिका प्रवक्ता समेत रहनुभएका सोही वडाका अध्यक्ष भोजराज कार्कीका अनुसार वडाको ५ लाख र गाउँपालिकाको ९ लाखबाट उक्त भवन निर्माण हुनेछ । भौगोलिक हिसाबले कक्षा ६ अध्ययन गर्न १ घण्टा सम्मको यात्रा गर्नुपर्ने विद्यार्थीको बाध्यता र समस्यालाई ध्यानमा राखेर कक्षा वृद्धिको लागि पहल गरिएको प्रवक्ता कार्कीले बताउनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाको पहिलो प्राथमिकतानै शिक्षा रहेको बताउदै आवश्यकताको आधारमा विद्यालय मर्ज र थप गर्ने काम गरिरहेको बताउनुभयो । शैक्षिक सुधारको लागि विद्यालयका सरोकारवाला सबैको भुमिका उत्तिकै हुने भन्दै अध्यक्ष राईले स्थानीय सरकारको तर्फबाट कुनैपनि कसर बाकी नराखेकै कारण एसईई परीक्षामा ९९% विद्यार्थी उत्तीर्ण हुन सफल भएको बताउनुभयो । कक्षा थप सम्बन्धि वडाले जायज प्रस्ताव ल्याएकाले अनुमति दिइएको भन्दै अध्यक्ष राईले भवन निर्माण पश्चात शिक्षक पनि व्यवस्थापन गरिने बताउनुभयो । २०५६ सालमा कक्षा वृद्धि गरी ७ कक्षा सम्म सञ्चालन भएपनि आर्थिक जुटाउन नसक्दा पुनः कक्षा ५ सम्म मात्रै संचालन भएको विद्यालयमा यस वर्ष देखि ६ कक्षा संचालन सुरु भएको छ । तत्कालीन अवस्थामा सरकारबाट सहयोग नभएकै कारण कक्षा घटाउनुपरेको अभिभावकको गुनासो छ । अब भने कक्षा ८ सम्म सञ्चालन हुनेमा अभिभावक ढुक्क छन । सोही अबसरमा पर्यटन व्यवसायी चन्द्र बहादुर तामाङले उपलब्ध गराउनुभएको स्टेसनरीका सामाग्री समेत हस्तान्तरण गरिएको छ ।


