प्रेेक्षा आचार्य
इटहरी | समुदायस्तरमा महिलाको आवाजलाई सम्मान र प्राथमिकता दिने उद्देश्यका साथ LOLA इटहरीको पहलमा इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा ‘आँगनमा आमाको आवाज’ कार्यक्रम सम्पन्न भएको छ।
‘आमाको जीवन : दुःख, खुशी, बल र सपना’ विषयमा केन्द्रित उक्त कार्यक्रम खुला छलफलका रूपमा सञ्चालन गरिएको थियो। कार्यक्रममा ३० वर्षभन्दा माथिका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले आमाहरूलाई केवल पारिवारिक भूमिकामा सीमित नराखी एक महिला र व्यक्तिका रूपमा आफ्ना जीवनका अनुभव, भावना, संघर्ष, खुशी र सपनाहरू खुला रूपमा व्यक्त गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ।
छलफलका क्रममा सहभागी महिलाहरूले पारिवारिक, सामाजिक तथा व्यक्तिगत चुनौतीका बाबजुद आफूभित्र रहेको बल, धैर्य र आशाका अनुभवहरू साझा गरेका थिए। सहभागीहरूका अनुसार कार्यक्रमले महिलाबीच आपसी समझदारी, आत्मविश्वास र सम्मान बढाउन सकारात्मक भूमिका खेलेको छ।
LOLA इटहरीले संवाद र चेतनामार्फत महिलाको आवाज सशक्त बनाउँदै सामाजिक परिवर्तन ल्याउने उद्देश्यसहित यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। आयोजक पक्षले यस्ता छलफलले महिलाको आत्मसम्मान अभिवृद्धि गर्नुका साथै समावेशी समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रमको अन्त्यमा सहभागी सबै आमाहरूको सक्रिय सहभागिता र सहयोगप्रति आयोजक संस्थाले आभार व्यक्त गरेको छ।


