इटहरी ।  कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्रीवितरण भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्रीवितरण गरिएको छ । हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपियाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपियाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपियाँ ५० पैसा र कृषि चुन प्रतिबोरा रु। दुई सय १५ मा बिक्री भइरहेको छ ।