इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ ।

प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो ।

गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुटबल क्लब, खरखोला फुटबल क्लब र बराहक्षेत्र फुटबल क्लब गरी ८ टिम सहभागी बन्ने छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विधागततर्फ प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक मनोज तामाङले जानकारी दिनुभयो। योङ्ग ब्वाइज फुटबल क्लब तरहरा क्षेत्रमा लामो समयदेखि खेलकुदसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएको छ । आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहयोग अपेक्षा गरेको छ ।