इटहरी । कोशी प्रदेशकै दुग्ध उत्पादन तथा विकासको क्षेत्रमा नमुना सहकारीको रूपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्था विवादमा फसेको छ । संस्थाका अध्यक्ष यादप ढकालले मनोमानी र एकपक्षीय रुपमा संस्थाको संस्थापक सेयर सदस्य तथा तीन कार्यकाल अध्यक्ष भइसकेका अध्यक्षसहित दुईजना सेयर सदस्य र संस्थामा कार्यरत एक स्थायी कर्मचारीमाथि कारबाही गरेको भन्संदै संस्था विवादमा फसेको हो । संस्थामा पछिल्लो समय  विकृति विसंगति, आर्थिक अनियमितता र संस्थाका अध्यक्ष यादप ढकालको मनोमानी भएको भन्दै संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सेयर सदस्य कृष्णप्रसाद अधिकारी, सेयर सदस्य मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । आफुहरुमाथि संस्थाको नीति नियम विपरित कारबाही गरिएको बताए पनि संस्थाका अध्यक्ष यादव ढकालले सहकारी ऐन कानुन अनुसार कानुनी प्रक्रिया पुर्‍याएर स्पष्टीकरण पत्र समेत काटेर नियम संगत कारबाही गरिएको बताए । संस्थाले नियमित रुपमा गर्ने दुध खरिद, दाना खरिद र अन्य खरिद प्रक्रियामा आर्थिक अनियमितता भइरहेको, अध्यक्ष ढकालले मासिक रुपमा ४० हजार भत्ता लिने गरेको, सहकारी विभागबाट आएको अनुदान दुरुपयोग गरिएको  तथा संस्थालाई दिन प्रतिदिन आर्थिक धारासायी बनाइरहेको आरोप लगाएका छन् ।

यस क्रममा गत कात्तिक १७ गते झापाको कमल गाउँपालिकामा प्रेम मिश्र नामका कामधेनु संस्थाका कर्मचारीले गरेको आत्महत्या प्रकरणमा पनि संस्थाका अध्यक्ष ढकालसहित अन्य कर्मचारी र पदाधिकारीहरु संलग्न रहेको र उहाँहरु दोषी रहेको दाबी गरिएको छ ।संस्थाका ११ नम्बर बजारका बजार बिक्रेता प्रेम मिश्रले संस्थालाई करिब सात लाख ५० हजार बुझाउन बाँकी रहेको अवस्थामा दबाबपूर्ण तरिकाले तागेता गरेको, किड्नी बेचेर भए पनि असुल गरिन्छ भनी दबाब दिएका कारण मिश्रले आत्महत्या गरेको बताउदै पीडित परिवारले प्रहरीमा उजुरी गरेका छन् ।आत्महत्याको क्रममा मिश्रको साथमा फेला पारेको सुसाइड नोटमा पनि कामधेनु संस्थाका व्यवस्थापन र अन्य दुई कर्मचारीको नाम उल्लेख भएको अवस्थामा संस्थाका अध्यक्ष ढकालसहित व्यवस्थापनका कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । पीडित परिवार सम्पर्कमा रहेको र यस प्रकरणमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । कर्मचारी प्रेम मिश्रलाई अत्याधिक दबाब र तनाव दिइ उहाँले बाध्यात्मक रुपमा आत्महत्या गरेको चर्चा भई प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको अवस्थामा सो घटनालाई सामसुम पार्न र आफूमाथि थप छानबिन र कारबाही नहोस् भन्ने नियतले अध्यक्ष ढकालले पीडित परिवारलाई पाँच लाख रुपियाँ दिएको बुझिएको छ ।

यता, संस्थाका अध्यक्ष ढकालले पनि पत्रकार सम्मेलन गरी मिश्रको परिवारलाई मानवीय संवेदनाको आधारमा रकम प्रदान गरेको बताउनुभएको छ । उहाँले संस्थाको नीति अनुसार कानधेनु संस्थाको दुग्ध उत्पादनको खरिद र बिक्री नगर्ने शेयर सदस्यहरुमाथि कारबाही अगाडि बढाएको भन्दै अन्य ७० जना सेयर सदस्यलाई पनि निस्कासन गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहभागी सञ्चारकर्मीहरुलाई खातामा रकम हालेर वितरण गरिएको थियो । सो क्रममा केही सञ्चारकर्मीले समाचार प्रभावित पार्ने उद्देश्यले रकम वितरण गरिएको आरोप लगाउँदै बहिस्कार गरेका थिए ।वार्षिक करिब ८० करोड रुपियाँ बराबरको कारोबार गर्दै आएको कामधेनु दुग्ध विकास सहकारी संस्थामा कोशी प्रदेशका विभिन्न जिल्लाका करिब एक हजार छ सय सेयर सदस्य आबद्ध रहेका छन् ।