इटहरी । ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ । पुरातìव विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खननबाट प्राप्त इसाको पहिलो र दोस्रो शताब्दीका संरचनालाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो । विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्ष भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले संरक्षणको काम भइरहेको छ । संरक्षण कार्य अन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक्सटाइल’ (विशेष कपडा) बिछ्याएर नयाँ इँटाले छोप्ने र पानी नछिर्ने गरी ‘वाटर टाइट’ बनाउने काम भइरहेको छ । स्थानीय जनविश्वास अनुसार यो स्थानलाई महाभारतकालीन विराट् राजाको दरबार मानिए पनि पुराताìिवक अध्ययनले यसलाई मन्दिरको संरचना हुन सक्ने सङ्केत गरेको छ । लुम्बिनी विकास कोषका वरिष्ठ पुरातìव अधिकृत तथा यस क्षेत्रमा खटिएका पुरातìवविद् हिमालकुमार उप्रेतीका अनुसार अहिले देखिएका अधिकांश इँटा कुषाणकालीन हुन् ।
२०७८ सालको उत्खनन र जियोफिजिकल सर्भेले यो क्षेत्रमा ४६ फिट लम्बाइ र ४५ फिट चौडाइ भएको ठुलो संरचनाको जग रहेको देखाएको छ । अहिले भइरहेको काम पुनर्निर्माण नभई संरक्षण मात्र हो । जमिनमुनि दबिएर रहेका पर्खाल बाहिर देखिँदा मौसमको प्रभावले छिटो बिग्रने खतरा हुन्छ । त्यसैले पुराना इँटालाई सुरक्षित राख्न त्यसमाथि नयाँ इँटाको प्रयोग गरिँदै छ । संरक्षणका लागि प्रयोग गरिने इँटा र मसला पनि विशेष प्रकारका छन् । सिमेन्टको प्रयोग नगरी प्राचीन शैलीमै सुर्खी (इँटाको धुलो), चुना र बालुवाको मिश्रण प्रयोग गरिएको छ । यहाँ प्रयोग गरिएका इँटा आधुनिक इँटाभन्दा धेरै ठुला छन् । पुरातìव विभागका कर्मचारी हरिप्रसाद भुसालका अनुसार यहाँ प्रयोग गरिएका इँटा काठमाडौँबाट विशेष अर्डरमा ल्याइएको हो । हालको चरणमा भेडियारीको मुख्य संरचनाको माथिल्लो भागलाई पानीले नबिगार्ने गरी छोप्ने(क्यापिङ गर्ने) काम भइरहेको छ ।
करिब आठ जना कामदार र प्राविधिक टोली खटिएको यो काम पुस १५ सम्म चल्ने बताइएको छ । संरक्षणको काम सकिएपछि यो क्षेत्र खुला सङ्ग्रहालयका रूपमा विकास हुने र अवलोकनकर्ताले दुई हजार वर्ष पुरानो इतिहास प्रत्यक्ष देख्न पाउने विश्वास गरिएको छ । विगतमा भारतको कपिलवस्तुलगायतका क्षेत्रमा प्रयोग भएको संरक्षण शैली नै यहाँ अपनाइएको छ । अहिले भइरहेको कामले ऐतिहासिक सम्पदाको आयु लम्ब्याउने र भावी पुस्ताका लागि इतिहास जोगाइराख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । विभागले बजेट र जनशक्ति व्यवस्थापन गर्दै आगामी वर्ष पनि थप संरक्षणका काम निरन्तर अघि बढाउने योजना बनाएको छ ।


