इटहरी । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं। ६ का नेता तथा कार्यकर्तासँग गत बुधबारदेखिनै उहाँ भेटघाट गरिरहनु भएको छ । पार्टीको एकल सिफारिसमा पर्नु भएका उहाँले मुलुकमा गहिरिँदो सुरक्षा सङ्कटप्रति सरकारको उदासीनताले आगामी फागुन २१ गतेको निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गर्नु भएको छ । विराटनगर–६, सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको समेत आरोप लगाउनुभयो । जेलबाट ५ हजारभन्दा बढी कैदी फरार हुनु, सुरक्षाकर्मीका हतियार लुटिनु र दोषीहरू अझै पक्राउ नपर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै उहाँले सरकारको प्राथमिकता गलत दिशामा गएको बताउनुभयो । पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई काठमाडौँ बाहिर जान नपाइने अवस्था सिर्जना हुनु लोकतान्त्रिक अभ्यासकै अपमान भएको नेता कोइरालाको ठहर छ । भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घटनाबारे बोल्दै नेता कोइरालाले दुवै घटनालाई फरक सन्दर्भमा हेर्नु पर्ने बताउनु भयो । पार्टीको १५औँ महाधिवेशनबारे बोल्दै नेता कोइरालाले केही समय तलमाथि हुनसक्ने सङ्केत गर्नुभयो । सभापतिको उम्मेदवारी दाबी गर्दै आउनुभएका उहाँले नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यता व्यवस्थापनमा गम्भीर हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । कोइरालाले एसअघि मोरङको सुन्दरहरैँचा ५ मा निर्माण गरिएको बुद्ध विहारको शुक्रबार उद्घाटन गर्नुभएको थियो । सो क्रममा पनि नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसँग जोडिएको उल्लेख गर्दै विकासको गति क्रमसँगै उल्लेख गर्नुभयो । उहाँ पार्टीका नेता कार्यकर्तासँगको छलफलमा निर्वाचनमा जुट्न जनतासँग जोडिन निर्देशनसमेत दिनुहुन्छ ।


