इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि  इटहरीमा शनिबार देखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गर्नुभयो ।  सम्मेलनको पहिलो दिन चारवटा कि नोट प्रस्तुत गरिएको छ , जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइ एनए एसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर एफ कोहेनले किनोट प्रस्तुत गर्नुभयो । सम्मेलन मार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता  तथा सरोकारवालाहरू  बिच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ । जसका लागि विषय विज्ञहरुले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो। सम्मेलनको उद्घाटन सत्रमा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो। उहाँले अध्ययन अनुसन्धानले देखाएको बाटोमा अघि बढेर देशलाई रुपान्तरणको दिसामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्णा जागि रहेका बेला साँच्चै दल, नेता तथा दलको रुपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताउनुभयो । त्यस्तै, इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताउनुभयो। उहाँले समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुने गरि अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताउनुभयो।  यसैबीच, इटहरीका उद्योगी व्यापारी भिमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न ५१ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने हुनुभएको छ। अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनको अवसर पारेर पौडेलले अक्षयकोष खडा गर्ने घोषणा गर्नुभएको हो । पौडेलले राख्ने अक्षयकोषबाट चाडै कार्यविधि बनाएर रकम प्रदान गरिने जानकारी दिइएको छ ।