धरान | सुनसरीको धरानमा शनिबार साँझ गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। भोजपुर–सुनसरी  समाजको आयोजनामा धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम गायक तथा संगीतकर्मी दीप श्रेष्ठको प्रमुख आतिथ्य तथा भोजपुर–सुनसरी समाज धरानका अध्यक्ष रेवती रमण राईको अध्यक्षतामा सम्पन्न भयो।

धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन प्रदान गर्दै कार्यक्रमबाट उठ्ने रकम भोजपुर–सुनसरी समाजले धरानमा निर्माण गर्न लागेको संस्थागत संरचनाका लागि उपयोग गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले संगीत क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उद्देश्य पूरा गर्न समेत महत्वपूर्ण योगदान दिने बताउनुभयो।

दुई दशकभन्दा लामो सांगीतिक यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी’, ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा आइसकेका छन्। कार्यक्रममा उनले ‘अँधेरीमा जुन फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ जस्ता चर्चित गीत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि गायक तथा संगीतकर्मी दीप श्रेष्ठले यस्ता सांगीतिक कार्यक्रमले संगीत क्षेत्रलाई अगाडि बढाउन सहयोग पुर्‍याउनुका साथै संस्थागत हकहितका लागि पनि सकारात्मक योगदान दिने बताउनुभयो।

कार्यक्रममा भोजपुर–सुनसरी समाजका सल्लाहकार तथा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, संस्थाका पदाधिकारी, विभिन्न संगीतकर्मी तथा गायकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।17662930610861766293055047

धरान उपमहानगरपालिका, आमचोक गाउँपालिका, साँगुरीगढी गाउँपालिका भोजपुर, टेम्केमैयुङ गाउँपालिका तथा विभिन्न संघ–संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम यसअघि गत भदौ २८ गते गर्ने तयारी गरिएको भए पनि जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो।1766290874069