इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी ९इन्टर्न० चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा। अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिनुभयो । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा भएको यस दुःखद घटनाले अस्पताल परिवार र सहकर्मीहरू स्तब्ध भएका छन् । डा। यादव भवनबाट कसरी खस्न पुग्नुभयो भन्नेबारे यकिन हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


