इटहरी । संखुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले भारवहन समान लैजान धनकुटाको मुलघाटमा अन्डरपास निर्माणको भइरहेको छ। अरुण तेस्रो आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो। धनकुटा नगरपालिका–९, मूलघाट स्थित तमोर नदीमा आयोजनाले करिब ६० मिटर लामो अन्डर पास बनाउने काम धमाधम गरीरहेको छ। कोशी राजमार्गमा पर्ने धरान धनकुटा सडक खण्ड अन्तरगत मूलघाटमा तमोर नदीमाथि २ सय मिटर लामो पक्की पुल रहेको छ। २०४० समालमा निर्माण पुलको अधिकतम भारवहन क्षमता ७० टन मात्रै रहेको छ। निर्माणधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइन लगायतका भारी उपकरण सहित एउटा ट्रकमा १ सय ४० टनसम्मका १ सय ५० वटा ट्रक आउने भएको आयोजनाका डीजीएम पंकज आनन्दले बताउनु भयो। सडक विभागबाट स्वीकृति लिइ र नेपाल सरकारको अनुमति पाएपछि अन्डरपास बनाउन सुरु गरिएको आयोजनाले जनाएको छ। बढी तौल भएका भारवहन सामग्री लोड गरिएका ट्रक पुलबाट तार्दा पुलमा क्षति पुग्ने भएकाले अन्डर पास निर्माण थालिएको हो। हिउँदको समय भएकाले तमोर नदीमा पानीको सहत कम भएकाले पानीको सहत बढ्नुअघि नै भारी सामग्री ओसारिसक्ने तयारी रहेको आयोजनाले जनाएको छ। आयोजनाका भारवहन सामग्री ओसार्दा पुलमा क्षति पुग्ने भन्द अन्डरपास बनाइएता पनि सडकको भारवहन क्षमता नपुग्ने हुँदा समस्या हुने भएको छ। धरान–धनकुटा सडकको अधिकतम भारवहन क्षमता करिब ४० टन मात्रै रहेको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिनुभयो। सडक क्षमताका कारणले गर्दा ४० टन भन्दा बढी भारका मालवाहक सवारीसाधन सञ्चालन गर्न नपाईने सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ। डीजीएम आनन्दका अनुसार परियोजना निर्माणका लागि राजमार्ग प्रयोग गरी सामग्री ओसारपसार गर्न नेपाल सरकारले स्वीकृति दिइसकेको छ। राष्ट्रिय गौरवको आयोजना भएकाले सहमति मार्फत माथिबाटै सहजीकरण हुने धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनाले सामाग्री लैजान सहजीकरण गरिरहेको खड्काको भनाइ छ। लामो सवारीमा समान आउने भएकाले सडकमा क्षति नपुग्ने भएपनि धनकुटाको तमोर नदी र संखुवासभाको सभा खोलामा रहेको पुलमा क्षमता नपुग्ने भएकाले अन्डर पास बनाउन लागिएको जानकारी पाएको उहाँको भनाइ छ। उहाँले कोशी राजमार्गले छोएका धनकुटाका सबै पालिकाहरुसँग समन्वय गरी भारवहन समान लैजान समन्वकारी भूमिका खेलेको जानकारी दिनुभयो।


