इटहरी। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण र सचेतना सुरु गरेको छ । कोसी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय नेमुवाले सडकमै स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । प्रहरीका अनुसार सडकमा खटिएका प्रहरीले चाल तथा सहचालकहरूको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । यसमा यातायात व्यवसायीले समेत सकारात्मक सहयोग गरिरहेका छन् । प्रहरीले कोसी राजमार्गको नेमुवा, खनार, दुहबीलगायत क्षेत्रमा अभियान सञ्चालन गरिरहेको छ । यात्रुवाहक बस, टिपर, म्याजिक, सिटी सफारी, मोटरसाइकल आदिको बढ्दो दुर्घटना र त्यसको जोखिम कम गर्न अभियान सञ्चालन गरिएको बताइएको छ ।  यसक्रममा ४१ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । १० जनाले मापसे गरेको पाइएपछि उनीहरुको विषयमा अनुसन्धान सुरु गरिएको छ । ट्राफिक प्रहरी कार्यालय इटहरीका कार्यालय  प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दीपक गिरी आफैँ कार्यक्षेत्रमा खटिएर चालकहरुलाई ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएका छन् ।  यस्तो अभियानबाट दुर्घटना घटाउन मद्दत पुग्ने उनले बताए ।