इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० ले “अनेकतामा एकता : वार्ड नं. २० तरहराको विशेषता” भन्ने मूल नारासहित पुस ९ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
आइतबार वडा कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिँदै वडा कार्यालयले तरहरामा बसोबास गर्ने विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमअन्तर्गत पुस ९ गते तरहरा बजार परिक्रमा गरिनेछ भने त्यसपछि सगरमाथा खेलमैदानमा विविध सांस्कृतिक प्रस्तुति तथा औपचारिक कार्यक्रम सञ्चालन गरिनेछ।
वडा अध्यक्ष मणिराम श्रेष्ठले तरहरामा सबै भाषा–भाषी तथा धर्म–संस्कृतिका मानिसहरूको बसोबास रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले तरहराको बहुसांस्कृतिक पहिचान झनै उजागर हुने बताउनुभयो। उहाँले धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै सामाजिक सद्भाव कायम राख्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल रहनुहुने छ।
सोही अवसरमा तरहराकी चर्चित डान्सर आस्मा विश्वकर्मालाई सम्मान गरिने कार्यक्रम पनि तय गरिएको छ। वडा सदस्य तथा कार्यक्रम संयोजक तनुज गुरुङ (सुरेश) ले स्थानीय प्रतिभाको सम्मान र प्रोत्साहनका लागि उक्त सम्मान कार्यक्रम राखिएको जानकारी दिनुभयो।


