इटहरी । तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिता आगामी फागुन ९ गतदेखि सुनसरीमा आयोजना हुने भएको छ । कोशी प्राइड प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ९ देखि २१ गतेसम्म सुनसरीको डा. खलिल आजाद क्रिकेट मैदानमा तेस्रो संस्करणको कोशी प्राइड लिग आयोजना गरिने जनाएको हो । प्रतियोगिताको यस संस्करणमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट थन्डर्स, बीएन कोशी अर्ना र गोर्खा एभेन्जर्स गरि सात टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका प्राविधिक निर्देशक एवंसुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले कोशी प्रदेशमा क्रिकेट विकास र ग्रासरुट क्रिकेटलाई मजबुत बनाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । त्यस्तै नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपालका क्रिकेट खेल र संरचनालाई बलियो बनाउन सवैपक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । विद्यालय क्रिकेटलाई जोड दिन सके भविष्यमा राम्रा खेलाडी आउन मद्धत पुग्ने उहाको भनाई छ । प्रतियोगितामा सहभागी टीममा ११ खेलाडी रहने आयोजकले जनाएको छ । जसमा एक मार्की, एक आइकोनिक, राष्ट्रिय टिमबाट ड्राफ्ट हुने तीन खेलाडी, क्याटगोरी ‘ए’ का तीन, ‘बी’ का दुई र ‘सी’ का एक खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको कोशी प्राइड प्रालिले जानकारी दिएको छ ।