विराटनगर — नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य परशुराम बस्नेतलाई कोशी प्रदेशमा भव्य स्वागत गरिएको छ। नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भई गृह नगर विराटनगर फर्किने क्रममा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरिएको महासङ्घ कोशी प्रदेश कमिटीका अध्यक्ष रोहित कोइरालाले बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतले चौतर्फी घेराबन्दीका बाबजुद पनि पार्टी कार्यकर्ता तथा आम नेपाली जनताको साथ र समर्थनले आफू केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको बताउँदै सम्पूर्ण प्रतिनिधि तथा नेपाली जनताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी निर्वाचनको तयारीमा सक्रिय रूपमा लाग्ने तथा समृद्ध नेपाल निर्माण गर्ने नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सपना साकार पार्न प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो ।

विराटनगर विमानस्थलमा आयोजित स्वागत कार्यक्रममा सैयौँको सङ्ख्यामा नेपाल खेलकुद महासङ्घका सदस्य, स्थानीयवासी तथा नेकपा एमालेका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। विमानस्थलबाट खेलकुद महासङ्घ तथा नेकपा एमाले पार्टीको नारासहित स्वागत गर्दै बस्नेतलाई नेकपा एमाले मोरङ जिल्ला पार्टी कार्यालयसम्म ल्याएर उपस्थितलाइ धन्यवाद ज्ञापनसहित स्वागत–सम्मान कार्यक्रमको समापन गरिएको थियो।




