इटहरी । इटहरीमा पुस ९ गतेदेखि डिभिएम कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल डिभिएम ग्लोबल एकेडेमी, इटहरीको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको हो।

डिभिएम ग्लोबल एकेडेमीको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा मोरङ र सुनसरी जिल्लाका १६ वटा विद्यालयका टिमहरूको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टिमले सिल्ड, प्रमाणपत्रसहित २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टिमले सिल्ड, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

त्यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ को रूपमा मेडल, प्रमाणपत्र तथा ५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई समेत ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यालयस्तरीय क्रिकेट खेलको प्रवर्द्धन र प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको  नेपाल डिभिएम ग्लोबल एकेडेमी इटहरीका सहायक प्रचार्य नारायण सुवेदीले जानकारी दिनुभयो।

पछिल्लो समय क्रिकेटप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख गर्दै विद्यालयका शिक्षक तथा क्रिकेट प्रशिक्षक छितिज दाहालले यस्ता प्रतियोगिताले खेल क्षेत्रबाट खेलाडीलाई अघि बढ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। विद्यालयले यो प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर रूपमा आयोजना गर्दै जाने जनाएको छ।