इटहरी। जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं। ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो । संघले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइ रहनुभएको छ । यस्तै संघले धनकुटाको श्री पञ्चमीमा रहेका अनाथ बालबालिकालाई २२ हजार रुपियाँ बराबरको खाद्यान्न, धनकुटामा बसर्पाकमा ४५ हजार रुपियाँको दुई वटा सिसी क्यामेरा जडान र १८ हजारको खेल सामग्री खरिद गरी विभिन्न क्लबलाई सहयोग गरेको जिल्ला बक्सिङ संघ धनकुटाका कार्यबहाक अध्यक्ष हेमचन्द्र राईले जानकारी दिनुभयो । गत मङ्सिर २५ देखि पुस ५ गतेसम्म धनकुटा बसपार्कमा सञ्चालन गरिएको कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकमबाट उक्त सहयोग गरिएको कार्यबहाक अध्यक्ष राईले जानकारी दिनुभयो । सांस्कृतिक कार्यक्रमबाट छ लाख पाँच हजार रुपियाँ रकम सङ्कलन भएकोमा सहयोग र कार्यक्रम खर्च पछि ९० हजार रुपियाँ बचन भएको जिल्ला बक्सिङ सङ्घ धनकुटाले जनाएको छ ।


