इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जेनजी आन्दोलन पछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीले प्रमुख कर्तव्यका रुपमा लिएको बताउनु भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनमा जनता र राजनीतिक पार्टीको सहभागिताका लागि शान्ति सुरक्षाको वातावरण अत्यावश्यक शर्त भएकाले अहिले प्रहरी शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । घिमिरेले ट्राफिक र्दुघटना न्यूनिकरण र व्यवस्थापन, लागू औषध सेवन र ओसार पोसार नियन्त्रण तथा साइबर क्राइमका घटना नियन्त्रण गर्न विशेष योजनामा लागेको जानकारी दिनुभयो। उहाँले धनकुटामा हुने गरेको गाँजा खेतीबाट विस्थापित गर्न सबैको सहभागितामा जनचेतना मुलक कार्यक्रम आवश्यक रहेको बताउँदै प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्न नसक्ने बताउनु भयो। प्रहरी नायब महानिरीक्षक घिमिरेले दुव्र्यसनीहरुलाई सुधार केन्द्रमा पठाउन मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिनुभयो । जिल्लामा हुने ट्राफिक व्यवस्थापनमा स्थानीय नागरिकको विशेष भुमिका रहनुपर्ने घिमिरेको भनाइ छ ।  जिल्लामा २६ जना ट्राफिकको दरबन्दी रहेकोले ट्राफिक प्रहरीले मात्रै केही गर्न नसक्ने बताउनु भयो। उहाँले प्रहरी भित्र शुन्य सहनशिलता कायम गर्दै इमान्दारिता र जवाफदेहितालाई प्राथमिकतामा राख्न मातहतका प्रहरीहरुलाई परिचालन गरिने स्पष्ट पार्नुभयो। उहाँले कोशी प्रदेशमा सबैभन्दा बढी महिला हिंसाका घटना हुने गरेको बताउँदै प्रदेशमा जातिय छुवाछुत घटनामा कमी हुँदै आएको जानकारी दिनुभयो। उहाँले जेनजी आन्दोलनमा काठमाण्डौ उपत्यका पछि कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको जानकारी दिनुभयो। भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले लागूऔषध नियन्त्रण, सवारी साधनमा लगाएको टायम कार्ड प्रभावकारी बनाइ कोशी प्रदेशभर लागु गर्नुपर्ने, कोशी राजमार्गमा भारवहन कायम हुनुपर्ने, सडकमा धर्म काँटाको व्यवस्था हुनुपर्ने, प्रहरीलाई प्राप्त भएको जग्गाको सदुपयोग, बजारमा अखाद्य वस्तु भेटिएकाले नियन्त्रण गनुपर्ने माग गरेका थिए।