इटहरी । कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने भएको छ । होटेल एसोसिएसन अफ भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म फेष्टिवल गर्न लागेको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिवल कोभिड–१९ महामारीका कारण २०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनु भयो। पूर्व आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई पूर्वी नेपाल र विशेष गरी भेडेटारमा आकर्षित गर्न फेस्टिभल आयोजना गर्न लागेको आयोजकले जनाएको छ । फुड फेष्टिवलले ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक परम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुनेछ । फेस्टिभलमा करिब दुई करोड ५० लाख बराबरको आर्थिक कारोबार तथा ५० देखि ६० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको होटेल एसोसिएसनका अध्यक्ष लिम्बूले बताउनु भयो। तीन दिनसम्म हुने फेस्टिभलमा विभिन्न परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन, स्थानीय तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, मौलिक परम्परागत सांस्कृतिक झाँकी प्रदर्शनीका स्टल राखिने आयोजक होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ। फेष्टिवलमा माउन्टेन बाइक, तमोर नदीमा र्याफ्टिङको मज्जा लिन पाइने भएको छ। तीन दिन हुने फेष्टिवलमा आगन्तुकका लागि भेडेटार आसपासका १९ वटा पर्यटकीय स्थलमा घुम्ने व्यवस्था मिलाइने आयोजकले जनाएको छ। समुन्द्री सतहदेखि १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार संस्था सिएनएनले भेडेटारको नाम्जे बजारलाई १२ औं गन्तव्य मध्ये पाँचौ गन्तव्यमा राखेपछि यहाँको पर्यटकीय चर्चा चुलिएको थियो। फेष्टिवल भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरनासम्म आयोजना हुने आयोजकले जनाएको छ। फेष्टिवलको अवसरमा साँगुरीगढी गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि मेला प्रदर्शनी हुने भएको छ। प्रदर्शनीमा खाद्यान्न बाली, नगदे तथा औद्योगिक बाली, फलफूल बाली, तरकारी बाली प्रदर्शनीमा राखिने भएको छ। प्रदर्शनीमा उत्कृष्ट बाली प्रदर्शनी गर्ने किसानलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार वितरण गरिने गाउँपालिकाले जनाएको छ।