इटहरी । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो । विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो । दुर्घटनालगत्तै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी समयदेखि राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएको थियो । टोलीमा ब्याट्सम्यानको रुपमा उहाँले केही फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाइसकेको परिवारले बताएको छ । राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन् । परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता हुनुहुन्छ भने उहाँ आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै रहनुभएको थियो ।


