इटहरी । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पुर्याउन कठिनाइ रहेको किसानको गुनासो छ । भोजपुर बजार क्षेत्रमा रहेका तीन वटा डेरी उद्योगले सदरमुकाम आसपासका क्षेत्रबाट मात्र दूध सङ्कलन तथा बिक्री गर्दै आएका छन् । बजारको क्षमता सीमित भएकाले गाउँघरका किसानसँग भएको दूध ल्याउन नसकिएको डेरी व्यवसायीको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका– ५ का स्थानीय कृषक अडिबहादुर विष्टका अनुसार गाउँघरमा उत्पादन हुने दूध बिक्रीको वातावरण नहुँदा मही पारेर खानुपर्ने अवस्था छ । केही किसानहरूले व्यावसायिक उद्देश्यका साथ पशुपालन गर्दै आए पनि लगानी र मेहनत अनुसारको आम्दानी लिन नसकेको गुनासो पनि छ । सदरमुकाम आसपासका बोखिम, दावा, पोखरे, खुरीला, ढुङ्गे, श्यामशिलालगायत क्षेत्रका स्थानीय बासिन्दाले मात्र दूध बिक्री गर्दै आएका छन् ।


