इटहरी — मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, इटहरीले आफ्नो १५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। इटहरीस्थित दुर्गा प्यालेसमा आयोजित साधारण सभा सहकारीका अध्यक्ष नबिन गिरीको सभापतित्व तथा संस्थाका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

साधारण सभाको खुल्ला सत्र सम्पन्न भएसँगै बन्द सत्रमा प्रवेश गरिने र त्यस क्रममा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने संस्थाका सचिव कल्पन घिमिरेले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भारतीले सहकारीले साना कर्जा उपयोगकर्ताका लागि सहज पहुँच प्रदान गर्दै आएको उल्लेख गरे। साना तथा मझौला उद्योग व्यवसायीका लागि कर्जा लिन जाने प्रमुख स्थान नै सहकारी भएको उल्लेख गर्दै उनले सहकारीमा आबद्ध भई पुँजी निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमको सञ्चालन संस्थाका सदस्य दीपक घिमिरेले गरेका थिए। कार्यक्रममा अडिटर दुर्गा प्रसाद पोखरेल, इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भक्त लामा लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।

साधारण सभाको अवसरमा विभिन्न विधामा उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट बचतकर्ताका रूपमा राम सोभित राम, उत्कृष्ट बाल बचतकर्ताका रूपमा आयुषा धिताल, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ताका रूपमा इन्द्रकुमारी पाण्डे तथा उत्कृष्ट ऋणीका रूपमा श्यामकुमार गिरीलाई सम्मान गरिएको हो। यस्तै, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा–छोरी समृद्धि बराललाई पनि सम्मान गरिएको थियो।
साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक अवस्था तथा आगामी कार्ययोजनामाथि समेत छलफल गरिएको आयोजकले जनाएको छ।



