इटहरी। बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ। पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएका डाइभर्सन पटकपटक बाढीले बगाउँदा दुई वर्षयता यो बाटो भएर हिँड्ने यात्रु बाहकसँगै ढुवानीका साधन वारपार गर्न कष्ट थियो। गत वैशाख महिनामै नै यहाँ बेलिब्रिजको ठेक्का लागे पनि विपद्कै कारण काम सुरु हुन सकेको थिएन। यसैबिच पूर्वाधार विकास कार्यालयले रेखदेख गर्नेगरी यहाँ बेलिब्रिज जोड्न थालिएको हो। यहाँ जोड्ने बेलिब्रिज संघीय सरकारले उपलब्ध गराए पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी शैलेन्द्र सिंहले बताउनुभयो। मेची राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङको संगमस्थल कावेलीबाट ल्याइएको हो। फेमे खोलामा बेलिब्रिज जोड्न सुनगाभा विल्डर्स एण्ड सुपर शंखमुल नामक कम्पनीले ठेक्का लिएको छ। पुस लागेसँगै काम सुरु गरेको कम्पनीले दुई महिनाभित्रै काम सक्ने निर्माण प्रबन्ध निर्देशक कमल गौतमले बताउनुभयो। बेलिब्रिजको लागत एक करोड ३९ लाख ८२ हजार ५ सय ६२ रुपियाँ छ। यो बेलिब्रिज जडान भएपछि फिदिम नगरपालिकाका ११, १२, १३ सँगै फालेलुङ गाउँपालिकाका नागरिकलाई सहज हुनेछ। जुन सडकले सदरमुकाम फिदिमलाई भारत र वेष्ट बंगालको सिमावर्ती क्षेत्रलाई जोड्ने गरेको छ।