इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल ९मोटर गुड्ने० पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो। गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको वडा नम्बर(५, तापेथोक वडा नम्बर(६, लेलेप जोड्नेगरी तापेथोकबगरस्थित तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरिएको छ। अहिलेको हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पुर्‍याउने उद्देश्यले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनु भयो। गाउँ–गाउँसम्म सडकको पहुँच पुगे पनि तमोर नदीमा पक्की पुल नहुँदा स्थानीय नागरिकले यातायात सुविधा उपभोग गर्नबाट बञ्चित हुनु परेको अवस्थालाई दृष्टिगत गरी काठेपुल निर्माण गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताउनु भयो। उहाँका अनुसार गाउँपालिकाले करिब ९० हजार रुपियाँ खर्च गरेर तापेथोक बगरमा काठेपुल निर्माण गरेको हो।  काठे पुल निर्माण गर्न तमोर इनर्जी प्रालिले एक्साभेटर ९मेसिन० उपलब्ध गराई सहयोग गरेको अध्यष लिम्बूले जानकारी दिनु भयो। उहाँकाअनुसार तमोर नदीकै छिरुवा खण्डमा पनि मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गर्ने तयारी गरिएको छ। तापेथोक बगरमा भने काठे पुल निर्माण गरेपछि सर्वसाधारण नागरिकलाई सुविधा मिलेको छ। जिल्लाकै विकट तथा दुर्गम भेगमा पर्ने फक्ताङ्लुङ गाउँपालिकाले विगतका वर्षदेखि नै हिउँद याममा तमोर नदीमा विभिन्न ठाउँमा काठको अस्थायी मोटरेवल पुल निर्माण गर्ने गरेको छ। तमोरको वारिपारि अर्थात दुवैपट्टि फक्ताङ्लुङ गाउँपालिकाको क्षेत्र पर्ने भएकाले हिउँद याममा सबै वडा तथा टोलसम्म यातायात सुविधा पुर्‍याउन गाउँपालिकाले काठको पुल निर्माण गर्ने गर्दछ। तमोर नदीमा पक्की पुल नबनेसम्म काठको अस्थायी मोटरेवल पुल बनाउनु पर्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ।