इटहरी । युवाहरूको नेतृत्व, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्वमा लामो समयदेखि सक्रिय संस्था इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

इटहरीमा सम्पन्न संस्थाको विशेष अधिवेशनले आगामी कार्यकालका लागि ओमकार खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ नेतृत्व चयनसँगै संस्थाले ऊर्जाशील र सक्रिय युवाहरूलाई जिम्मेवारी सुम्पिएको छ।

संस्थाको सांगठनिक सुदृढीकरण र रणनीतिक योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण मानिने कार्यकारी उपाध्यक्ष (एव्पी) पदमा प्रिन्स अधिकारी र गणेश कोइराला चयन भएका छन्। उनीहरूले अध्यक्षसँग समन्वय गर्दै संस्थाका आन्तरिक तथा बाह्य गतिविधिहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, उपाध्यक्ष पदमा देव न्यौपाने, आकाश मित्र पोखरेल, स्वस्तिका कार्की र प्रतिमा श्रेष्ठ चयन भएका छन्। उपाध्यक्षहरूको टोलीले तालिम, सामुदायिक सेवा तथा सदस्य विस्तारसम्बन्धी कार्यक्रमहरू स्थानीय स्तरमा कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ।

संस्थाको प्रशासनिक कामकाज र सञ्चार व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यले सचिव पदमा रेजिना कार्की नियुक्त भएकी छन्। कार्यसमितिका सदस्यहरू र सचिवालयबीच समन्वय कायम गर्दै संस्थाका उद्देश्य हासिल गर्न सचिवको भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।

नवनियुक्त अध्यक्ष ओमकार खतिवडाले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा इटहरी क्षेत्रका किशोर–किशोरी तथा युवाहरूको क्षमता अभिवृद्धिका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नयाँ कार्यसमिति चयनसँगै जेसीजका पूर्व पदाधिकारी, सदस्यहरू तथा सामाजिक अभियन्ताहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।