इटहरी। सुनसरीका तमु समुदायहरु आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्धनमा लागि परेका छन् । बौद्ध धर्म मान्ने तमुहरु आफ्नो मौलिक पहिचानलाई जोगाइ राख्न तमु समुदायका अगुवाहरु लागि परेका हुन् । तमु ल्होसारको पूर्व सन्ध्यामा सुनसरीको प्रकाशपुरमा तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जिल्ला परिषद् अध्यक्ष धिरज गुरुङले आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गर्न सबै गुरुङहरु एक भएर जुट्नु पर्ने बताउनुभएको छ । जिल्लाभरिका इकाइ कार्य समितिबाट भेला भएका गुरुङहरुले एक आपसमा खुशी साटासाट गर्दै सर्प वर्गको बिदाइको पूर्व सन्ध्यामा खुसीयाली मनाएका छन् । वर्ष गणनाको पद्धति अनुसार सप्री ल्हो ९सर्प वर्ग० को बिदाइ र त ल्हो ९घोडा वर्ष०को आगमनको पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा तमु समुदायका महिला र पुरुषहरुले सामुदायिक रुपमा सांस्कृतिक, नृत्य र मनोरञ्जनका कार्यक्रम गर्नुभएको थियो । वैज्ञानिक वर्ष गणना पद्धतिको विकास नभइसकेको अवस्थामा आदिम कालमा ल्हो अर्थात वर्ष गन्ने पद्धत्ति गुरुङ पुर्खाले विकास गरेअनुसार ल्होसारदेखि नयाँ सम्वतको सुरुवात भएको मानिँदै आएको छ । ल्हो कोर चक्रमा रहेको जीव एकबाट अर्कोमा सर्ने समयलाई ल्होसारको रुपमा मान्दै खुसीयाली साटासाट गर्ने प्रचलन रहीआएको कार्यक्रमका संयोजक दिव्यराज गुरुङले बताउनुभएको छ । गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा जनावरको नामबाट वर्षको नामाङ्करण गरिँदै आएको छ । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले तमु समुदायले आफ्नो भाषा, संस्कृति, परम्परा, पहिरन र संस्कारको जगेर्ना र पुस्तान्तरण गरी मौलिक पहिचानको रक्षा तमु समुदायले गर्दै आएको बताउनुभएको छ । उहाँले गुरुङ समुदायले मान्ने सम्वत् सर्प वर्गको बिदाइ गर्दै घोडा वर्षको शुभकामना व्यक्त गर्दै सबै तमुहरुको शान्ति, समृद्धि र दीर्घायुको कामना गर्नुभएको छ । तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् इकाइ कार्यसमिति प्रकाशपुरको व्यवस्थापनमा भएको कार्यक्रमा तमू हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, पूर्व वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङ लगायत इकाइ, जिल्ला, प्रदेशका गुरुङ समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।


