इनरुवा | हातेमालो जनसरोकार संस्थाले सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–५ मा निशुल्क कपडा बैंक सञ्चालनमा ल्याएको छ। पछिल्लो समय बढ्दो चिसो र अत्यधिक जाडोलाई लक्षित गर्दै आर्थिक रूपमा कमजोर, विपन्न तथा असहाय वर्गका नागरिकहरूलाई राहत पुर्‍याउने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो।

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने मानवीय नारालाई आत्मसात गर्दै संस्थाले समाजमा आपसी सहयोग, सहकार्य र सहानुभूतिको भावना विकास गर्न यो अभियान सुरु गरेको जनाएको छ। जाडोयाममा न्यानो कपडाको अभावमा कष्ट भोग्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कपडा बैंकमार्फत आवश्यक व्यक्तिहरूलाई निःशुल्क कपडा उपलब्ध गराइनेछ।

हातेमालो जनसरोकार संस्थाका अध्यक्ष लालबहादुर श्रेष्ठले पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेकाले विपन्न वर्ग विशेषगरी बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी मजदुरहरू बढी प्रभावित हुने गरेको बताउनुभयो। “समाजमा धेरैको घरमा प्रयोगविहीन अवस्थामा रहेका कपडा खेर गइरहेका छन्। ती कपडालाई संकलन गरी आवश्यक परेकालाई वितरण गर्नु नै कपडा बैंकको मुख्य उद्देश्य हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो।

कपडा बैंकमार्फत जाडोका लागि आवश्यक ज्याकेट, स्वेटर, कोट, कम्बल, टोपी, मफलर लगायतका कपडाहरू संकलन तथा वितरण गरिनेछ। इच्छुक दाताहरूले आफूले प्रयोग नगरेका तर प्रयोगयोग्य कपडाहरू कपडा बैंकमा ल्याएर सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ। त्यस्तै, आवश्यकता भएका व्यक्तिहरूले कुनै शुल्क नतिरी सहज रूपमा कपडा प्राप्त गर्न सक्नेछन्।

संस्थाका अनुसार निशुल्क कपडा बैंक केवल वितरण केन्द्र मात्र नभई सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोग संस्कृतिको विकास गर्ने माध्यमका रूपमा पनि स्थापित हुँदै गएको छ। संस्थाले विगतका वर्षहरूमा समेत यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्ष पनि निरन्तरता दिइएको जनाएको छ।

स्थानीयवासीहरूले हातेमालो जनसरोकार संस्थाको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्। जाडोयाममा गरिब तथा असहाय वर्गलाई प्रत्यक्ष राहत पुग्ने भएकाले आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न उनीहरूले सुझावसमेत दिएका छन्।

संस्थाले आगामी दिनमा कपडा बैंकसँगै अन्य सामाजिक सेवामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिएको छ।